Light Nepal

हराएका तीन बालबालिका ६ दिन पछि सकुशल भेटिए, गाउँ नै खुसी

रुकुम, ३ जेठ । रुकुममा हराएको ६ दिन पछि तीन बालबालिका सकुशल फेला परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका तीन बालबालिका बेपत्ता भएको ६ दिन पछि फेला परेका हुन् । गाडी हेर्न र आफन्तलाई लिन भन्दै अभिभावकलाई नभनी घरवाट निस्केका बालबालिका बाटो बिराएर हराएका थिए । हिंउले ढाकेका डांडा र जंगलमा हराएका उनीहरुको अहिले बोल्न सक्ने अवस्थामा छैनन् ।

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–१, का उनीहरु बिहान रन्माको हिउँचोइमा फेला परेका छन् । भेटिएका मध्ये सात वर्षका डायमण्ड पुन र दुवै पुन बोल्न नसक्ने अवस्थामा छन् । ६ वर्षका सुहाना पुन अलि अलि बोल्न सक्ने अवस्थामा छिन् ।

उनीहरु गएको चैत २९ गते घरवाट हिंडेका थिए । पिपलटुङतर्फ गएका उनीहरु गरघाट भन्ने ठाउंवाट हराएका थिए । घर फर्कन भन्दै गरघाटसम्म आइपुगेका उनीहरु मैकोटतर्फको बाटो हिंड्नु पर्नेमा नजानेर रन्माको वनतिर लागेका थिए ।

उनीहरुसँगै हराएका ६ वर्षका काल्या पुन भने हराएको भोलीपल्टै भेटिएका थिए । उनले दिएको सूचनाका आधारमा अन्य दुई बालबालिकालाई खोजिएको थियो । ६ दिनपछि बिहीबार बिहान रुखको फेदमुनि पल्टिएको अवस्थामा गाउंलेले फेला पारेका छन् । रन्माको भिरै भिर भएर हिउँचोई पुगेको र पछि फर्किन नसकेको बालिका सुहानाले बताएकी छन् । हिंउंले ढाकिएको डांडा र जंगलमा ६ दिन सम्म बेपत्ता भएका बालबालिका सकुशल भेटिए पछि गाउँनै खुसी भएको छ । उनीहरुलाई खोज्न सारा गाउँ लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्