Light Nepal

युएईमा ५ वर्ष मुद्या झेलेका झापाका लोकेश घर फर्किए

काठमाडौं, ३ जेठ । ब्लडमनी स्वरुप झण्डै ३० लाख रुपैया बुझाउनुपर्ने मुद्या खेपिरहेका झापाका लोकेश खतिवडा नेपाल फर्कन पाएका छन् । उनी ब्लडमनी सम्बन्धी मुद्दाका कारण ५ वर्ष देखि नेपाल फर्कन पाएका थिएनन् । बीमा कम्पनीले सो रकम तिरे पछि खतिवडा नेपाल फर्कन पाएका हुन् । नेपाली दुतावासको पहल पछि मात्र बिमा कम्पनीले सो रकम बुझाइदिएको हो ।
त्यहांको अदालतले चार महिना अघि नै मुद्याको फैसला गरिसकेको थियो । तर बिमा कम्पनीले रकम बुझाउन ढिलाई गरेका कारण उनको घर फिर्ती ढिलो भएको हो ।

आबुधाबीको अल जाफ्रा इन्स्योरेन्स कम्पनीले रकम नतिरेका कारण खतिवडा समस्यामा परेका थिए । कार्यवाहक राजदूतको जिम्मेवारी पाएका सागारप्रसाद फुँयालले आबुधाबी उच्च अदालतका प्रधानन्याधिससँग भेटेर लोकेशको मुद्दाबारे पहल गरेका हुन् । राजदुतको विशेष पहल र दवाव पछि मात्र बिमा कम्पनी रकम बुझाउन राजी भएको हो । बिमा बम्पनीले डेढ महिना अघि मात्र रकम बुझाइदिए पछि अन्य कागजी प्रकृया सुरु भएको थियो ।

दुई हप्ताअघि नेपाल फर्कन आबुधाबी विमानस्थल पुगेका लोकेशलाई अध्यागमनले झण्डै २६ लाख रुपैयाँ जरिवाना तिर्न बांकी रहेको भन्दै यात्रा अनुमति रोकिदिएको थियो ।

त्यो पैसा मिनाहा गराएर दुतावासले बिहीवार नेपाल पठाएको छ ।

डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत लोकेश सन् २०१४ जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको थियो । मृतकका परिवारलाई तिर्नुपर्ने ब्लडमनी सम्बन्धी मुद्दा लागेर लोकेश समस्यामा परेका थिए । दुर्घटनामा परेका लोकेश आफै पनि शारीरिक रुपमा अशक्त छन् ।

प्रतिक्रिया दिनुहोस्