Light Nepal

पार्टी एकताका लागि यसरी मिल्यो भागवण्डा

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रले सम्भवत आज पार्टी एकिकरणको घोषणा गर्दैछन् । चुनावी गठबन्धनका रुपमा अघि बढेको नेकपा एमाले तथा माओवादी केन्द्रले अन्तत पार्टी नै एक बनाउने भन्दै निर्वाचनमा होमिएका थिए ।

बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । यस अघि दुई पार्टीका अध्यक्षहरुको वुधवार एक्ला एक्लै भेटघाट र छलफल भएको थियो । दुबै दलका तर्फबाट पार्टी एकताको प्रस्ताव पेस गरी पारित भएपछि औपचारिक रुपमा निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी दिने तयारी दलहरुको छ ।

मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुवै दलका नेताहरुले बताएका छन् ।

यसैबीच पार्टी एकताको विषयमा छलफल गर्नका लागि एमालेले बिहीबार बिहान ११ बजे देखि आकस्मिक बैठकमा छ । एमालेले एकतालाई कसरी लैजाने भन्ने विषयमा छलफलका लागि बुधवार नै आकस्मिक वैठक बस्ने निर्णय गरेको थियो । आज नै माओवादी केन्द्रको पनि बैठक बस्दै छ । सम्भवत यो दुवै पार्टीको अब अन्तिम बैठक हुनेछ । बैठकपछि एमालेले आफ्नो केन्द्रीय कमिटी विघटन गर्ने तयारी समेत गरेको छ ।

माओवादी केन्द्रले बुधबार नै पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई पारित गरिसकेको छ । बिहीबार १ बजे पुनः सचिवालय बैठक बस्दैछ ।

दिउँसो ३ बजे दुबै दलको बैठकबाट निर्वाचन आयोगमा दर्ताका लागि पत्राचार गर्ने तयारी समेत छ ।

माओवादीलाई ४५ प्रतिशत

यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन् ।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ । सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

चुनाव चिह्न सूर्य

त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ ।

त्यस्तै पार्टीको विधानमा जनयुद्ध र विभिन्न कालखण्डमा भएका आन्दोलनलाई समेट्ने विषयमा समेत सहमति जुटेको छ । यस अगाडि एमालेले जनयुद्धुलाई सशस्त्र द्वन्द्वु भन्दै आएको थियो ।

त्यस्तै पार्टीका सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने जनताको बहुदलीय जनवाद ९जबज० र माओवादलाई थाँती राखिएको छ । जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एउटै विन्दुमा समेट्न जनताको जनवाद राख्ने गरी सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्