Light Nepal

मकालु एयरका चालक दलका सदस्यको शव काठमाडौं ल्याइयो

काठमाडौं, २ जेठ । मकालु एयरको विमान दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडौं ल्याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरवाट शव काठमाडौं ल्याइएको हो ।

घटनास्थलवाट माउन्टेन एयरको हेलिकोप्टरले सुर्खेत ल्याएको शव काठमाडौं पुर्याएको हो । हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवं एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै काठमाडौं आएका छन् ।

बुधबार बिहान ६.१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १०।७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो।

भेडी गोठालाहरुले देखेर जिल्ला प्रशासन कार्यालयमा खबर गरेपछि मात्र दुर्घटनाग्रस्त जहाज फेला परेको थियो । घटनावारे जानकारी पाएर सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य सहितको टोली घटनास्थल पुगेको थियो ।

उक्त टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्टर त्यसतर्फ गएको थियो। घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्