Light Nepal

हत्या, बलात्कार र भ्रष्टाचारको कसुर लागेकालाई जोगाउन कांग्रेसले दियो आन्दोलनको धम्की

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेस हत्या बलात्कार र भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बन हुने प्रस्तावको विपक्षमा उभिएको छ । कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिए पछि बुधवार प्रतिनिधिसभा नियमावली संसदमा पेश हुन सकेको छैन ।

सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिए । उनीहरुले नियमावली पारीत गर्न खोजिए संसद अवरुद्ध गर्ने धम्की दिएपछि सो विषय कार्यसूचीमा राखिएन ।

एमाले भने हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बनको व्यवस्था गर्नुपर्ने पक्षमा छ ।

यसअघि कांग्रेस र मधेसवादी दलहरुको बिरोधपछि निमायवली मस्यौदा समितिले निलम्बन शब्द नराखी सेवा सुविधा र सांसदको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको थियो । कांग्रेसका सांसदहरु अदालतले पुष्टि नहुंदा सम्म पद निलम्बन गर्न नहुने पक्षमा छन् ।

तर, एमाले सांसदहरुले कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका छन् । एमाले यो विषय अब मतदानवाट टुंगो लगाउने निष्कर्षमा पुगेको छ ।

कांग्रेस नेता मीन विश्वकर्माले अदालतमा पुष्टि नभएसम्म अभियोग लाग्दैमा निलम्बन गर्न खोज्नुले नियतमै शंका उब्जिएको प्रतिकृया दिएका
छन् ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नैतिक पतन देखिने र फौजदारी अभियोगमा पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने अडानबाट एमाले पछि नहट्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्