Light Nepal

बेलायती राहदानीमा ढिलाइ भएको भन्दै हङकङमा गोर्खा सैनिकका सन्तानले गरे प्रदर्शन

हङकङमा गोर्खा सैनिकका परिवारले प्रदर्शन गरेका छन् । अङकङ स्थित ब्रिटिश गोर्खा सैनिकका सन्तानले आफूहरुलाई बेलायती राहदानी दिन ढिलाइ गरेको भन्दै प्रर्दशन गरेका हुन् । गोर्खा सैनिकका सन्तानले बेलायती वाणिज्य दूतावासअघि मंगलबार प्रदर्शन गरेका छन्।

गोर्खा सैनिकका छोराछोरी र नातीनातिनीहरु बेलायती वाणिज्य दूतावासअघि भेला भएर प्लेकार्ड सहित प्रदर्शनमा गरेका थिए । उनीहरुले आफूले बेलायती राहदानी पाउन करिब ४ वर्षको अवधि लाग्ने गरेको भन्दै विरोध जनाएका छन् ।

बेलायती कर्मचारीले अनावश्यक रुपमा अड्चन थापेर काममा ढिलासुस्ति गरिदिएको उनीहरुको आरोप छ । आफूहरुसँग अत्याधिक कागजात माग राखेको, ढिलासुस्ती गरेको, अल्झाएको, भेदभाव र अपमान गरेको आरोप लगाएका छन्।

उता बेलायती वाणिज्य दूतावासका महानिर्देशक मार्क थम्सनले भने राहदानीका लागि झुठो नाता कायम गर्ने प्रयासले ढिलाइ भएको आरोप लगाएका छन्। यद्यपि उनले तत्कालै ढिलाइको समीक्षाका लागि एक टोली गठन गरिएको पनि बताए।
उनले प्रदर्शनमा पुगेकाहरुलाई समेत नक्कली गोर्खाका कारण काममा ढिलाई भएको विवरण सहितको पत्र दिएका छन् ।
उनले पत्रमा आफूहरु सन्तुष्ट नभएसम्म कसैलाई पनि राहदानी नदिइने जनाउँदै यो प्रणालीबाट अनुचित लाभ उठाउन खोज्नेहरुका कारण ढिलाइ भएको बताएका छन्।

उनले राहदानीका लागि आवेदन दिएकाहरुले गोर्खा सैनिकसँग झुठो नाता कायम गर्ने कोशिस गरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्