Light Nepal

जात्रामय बन्यो ललितपुर

ललितपुर, १० वैशाख । रातो मच्छिन्द्रनाथको रथ यात्रा चलिरहँदा सिङ्गो नगर क्षेत्र जात्रामय बनेको छ ।मच्छिन्द्रनाथको तीन लोकको यात्राअन्तर्गत आजबाट पाताल लोकको भ्रममण शुरु भएको छ । आज रथ सुन्धाराबाट हिँडाए पनि आजै पुग्ने टुङ्गो नहुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताए । रथ तानेर आज पु¥याउन नभ्याउँदा भोलिसम्ममा पु¥याउनुपर्छ । उनले भले, “आज वैशाख शुक्ल अष्टमीका दिनमा सुन्धाराबाट हिँडाउनुपर्ने भए पनि आजै पुग्ने निधो हुँदैन ।”

सुन्धाराबाट हिँडाए पनि राति नपुगे बीचमा कतै अड्याएर राखिने उनले बताए ।उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अवधिभर विभिन्न स्थानमा रथलाई तानेर पु¥याइन्छ । मच्छिन्द्रनाथको विभिन्न कर्म भइरहँदादेखि नै विभिन्न जातीय समूह जात्राको तयारीमा लाग्छन् । रथयात्रामा पनि उनीहरुका फरक–फरक भूमिका रहेको छ ।

पाताल लोकको रथयात्रा मानिने सुन्धारादेखि लगनखेलसम्मको रथ यात्रा कृषक ललित रथचक्रको स्मरणमा हुन्छ । यसलाई ललितपुरवासीको जात्रा मानिन्छ । बिहीबारबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु भएको हो । पुल्चोकबाट बिहीबार रथलाई गाबहाल पु¥याइएको हो ।

शुक्रबार गाःबहालबाट मंगलबजारको चारदोबाटो पु¥याइएको थियो । रथलाई विभिन्न स्थानमा परिक्रमा गराउने क्रममा शनिबार सुन्धारा लगिएको थियो । ज्योतिष दैवज्ञ जोशीले त्यही दिन सुन्धारावासी र त्यस वरपरको भेगमा छोयलाबु हुने गरेको बताउनुभयो । कुनै बाधा नपर्दा षष्टीका दिन साँझसम्ममा सुन्धारा पु¥याइने गरिन्छ । उनले भने, “सप्तमी तिथिमा (आइतबार) सुन्धारामा मूल जात्रा सम्पन्न भइसकेको छ ।”

मंगलबजारको चार दोबाटो (दरबार क्षेत्र जाने चोक)मा पहिले ठूलो खोला रहेको कथन छ । हक नामक खोलामा मच्छिन्द्रनाथको धोती फेराइन्थ्यो । अहिले खोला नभए पनि धोती वा रुमाल फेराउने चलन छ । उहाँ भन्नुहुन्छ, “पञ्चमीका दिनमा गाःबहालबाट हिँडाएर मंगलबजार आसपास नै अड्याउने गरिन्छ ।” पुल्चोकबाट गाबहालसम्मको मच्छिन्द्रनाथको यात्रालाई स्वर्ग लोकको यात्रासमेत भनिन्छ । यो रथयात्रा गुरु बन्दुदत्त बज्राचार्यको नाममा हुने गरेको छ । यसलाई कान्तिपुरवासीको जात्रा मानिन्छ । पहिले काठमाडौँवासीले नै यस खण्डमा रथ तान्ने गर्दथे ।

गाःबहालबाट सुन्धारासम्मको मत्यलोकको भ्रमण भनिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताए । यसलाई भक्तपुरवासीको जात्रा मानिन्छ । राजा नरेन्द्रदेवको स्मरणमा यो रथ यात्रा हुने गरेको छ । पहिले भक्तपुरवासी रथ तान्ने आउने गरेको उनले बताए । अहिले रथयात्रा भर ज्यापु समाज ललितपुरले रथ तान्ने जिम्मेवारी लिएको छ । उहाँ भन्नुहुन्छ, “अहिलेसम्म पनि यहाँसम्मको रथ यात्रालाई भक्तपुरपुरवासीकै जात्राका रुपमा मान्निछ ।”

रथलाई लगनखेल पु¥याएको दिन भूतबलि हुने गरेको छ । दशमीका दिन भ्याउँदा त्यही दिन र नभ्याउँदा एकादशीका दिन रथलाई थटी टोलमा पु¥याइन्छ । थटी टोलको मूल जात्रा सकिएको भोलिपल्ट याक मिसा भुजा ९एकल महिलाले रथ तान्ने० दिन पर्छ । इटी टोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर मात्रै जावलाखेल पु¥याउने दिनको टुङ्गो लाग्छ । जावलाखेल पुगेको चार दिन पनि भोटो जात्रा सकिन्छ र खटमा राखेर मच्छिन्द्रनाथलाई बुुङ्गमती नै फर्काइन्छ ।

मच्छिन्द्रनाथको जात्राका बेला भोटो प्रदर्शन गरिने परम्परा छ । सरकारले भोटो जात्राका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ । कथनअनुसार नाग राजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले वैद्य काम गर्दै आएका एक किसानलाई बोलाए ।

नागले जसरी भए पनि आफ्नी श्रीमतीको रोग निको पार्नैपर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे । उनले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे । हात माडेका हुनाले यसबाट मयल निस्कियो । उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए । त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो ।

रोग निको पारिदिएपछि नाग राजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए । किसानले सधैँ नै त्यो भोटो लगाएर हिँड्थे । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ । केही समयपछि भएको एक जात्रामा भूत र किसान पनि आएका रहेछन् । जात्रामा भूतले त्योे भोटो लगाएर आएको थियो ।

भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो । केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मच्छिन्द्रनाथकहाँ पुगे । मच्छिन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भत्रे निर्णय गरे । तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मच्छिन्द्रनाथले नै राखे । उहाँ भन्नुहुन्छ, “यो कसको भोटो हो भन्ने साङ्केतिक प्रश्नमा चारैतर्फ भोटो देखाउने चलन रहेको छ ।”

मच्छिन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ । मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले हिन्दू धार्मिक परम्पराअनुसार ब्राह्मणले महिला र पुरुषलाई गरिने दशकर्म गरिन्छ । बौद्ध धर्मअनुसारका सबै कर्म बज्राचार्यले गर्छन् । विधिवत् रुपमा दशकर्म सकिएपछि मात्रै रथारोहण गराई रथायात्रा शुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्