Light Nepal

मनाङेलाई जेल चलान

काठमाडौँ, ७ वैशाख । महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहीबार पक्राउ गरेको मनाङेलाई आज जिल्ला अदालतमा उपस्थिति गरेपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिए ।

विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार जेल चलान गरेको हो ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरे।

प्रतिक्रिया दिनुहोस्