Light Nepal

ट्रम्प, सिरिया र क्षेत्रीय युद्धको खतरा, यस्तो छ भविष्यको खतरा

बेरूत, लेबनान, ५ वैशाख (रासस÷प्रोजेक्ट सिन्डिकेट) / सिरियामा भएका पछिल्ला घटनाले अमेरिकी सैन्य अभियानलाई छिट्टै सिरियाबाट पछि हटाउनसक्ने र सिरियामा जारी क्रुरतापूर्ण गृहयुद्धको अन्त्य भई शान्तिपूर्ण तथा दीर्घकालीन समाधान हुने सम्भावना रहेको छ । सिरियाली राष्ट्रपति बसर अल–असदको सेनाले दुई हप्ता पहिले विद्रोहीको पकड क्षेत्र पूर्वी गुटाको डुमा शहरमा गरेको रासायनिक हतियार आक्रमणले सिरिया र विश्वको भविष्य कति खतरनाक अवस्थामा रहेको छ भन्ने छर्लङ्ग देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा व्यक्त धम्कीपूर्ण व्यवहार र अमेरिकी नेतृत्वमा बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमण ट्रम्पद्वारा केही समय पहिले सिरियाबाट अमेरिकी फौज फर्किन लागेको भनाइसँग विरोधाभाषपूर्ण देखिन्छ । यसले अमेरिकाको कुनै वास्तविक रणनीतिबिना नै सिरियामा युद्ध गरेको अनुभूति जो कसैले गर्नु स्वाभाविक हो । असदको फौजमाथि एउटा वा दुईटा हमला गर्नुले सिरियामा शक्तिको सन्तुलन देखाउँदैन न त द्वन्द्वग्रस्त अरब मुलुक सिरियामा ट्रम्पको अवस्थालाई सुधार गर्न सक्छ । पूरै मध्यपूर्वको त कुरै नगरौँ ।

वास्तवमा के हो भने अहिले ट्रम्पका उच्च सैनिक सल्लाहकारले सिरियामा कार्यरत करिब दुई हजारको सङ्ख्यामा रहेका अमेरिकी सेनालाई सिरियामा अहिलेकै अवस्थामा राख्न मन्जुर गराएको जस्तो पाइन्छ ।

अमेरिकाको प्रतिबद्धताअनुसार सिरियाको भविष्यका लागि काम गर्ने भन्ने व्यापक धारणा ट्रम्पको शासनकालमा क्रमशः कमजोर बन्दै गएको छ र यो अमेरिकाका मित्रशक्ति तथा शत्रुले पनि महसुस गर्न थालिसकेका छन् । अमेरिकाको विश्वव्यापी नेतृत्वमा ह्रास आएको महसुस भइरहेको छ । ट्रम्पले दोस्रो विश्वयुद्धपछि निकै नराम्रो बनेको भनिएको सिरियाली मानवीय संकटलाई बेवास्ता गरेको अनुभूति हुन थालेको छ ।

आइएसआइएस र अन्य जिहादी शक्तिलाई स्थायी रूपमा पराजित गर्ने र गृहयुद्धलाई स्थायी रूपमा अन्त्य गर्ने विश्वसनीय राजनीतिक बाटो ट्रम्पको एकमात्र उद्देश्य रहेको पाइन्छ तर विडम्बनाको कुरा यो साँघुरो विचारबाट सम्भव छैन । यस्तो अवस्थान्तर सिरियामा प्रभाव राख्ने शक्तिसँगको कूटनीतिक प्रयासबाट हुनसक्छ ।

ट्रम्पको सिरियाबाट अमेरिकी सेनालाई फिर्ता बोलाउने करिब दुई हप्ता पहिले आएको धारणासँगै अमेरिका र यसका सहयोगी युद्धमा हारेको भन्ने अर्थ लाग्यो जसले इरान तथा रूसी सहयोग प्राप्त सिरियाली असद प्रशासनलाई विद्रोही नियन्त्रित बाँकी भूभागलाई कुनै पनि हालतमा आफ्नो कब्जामा ल्याउने उद्देश्यका साथ अघि बढ्न बल मिल्यो । यसबाट असद र उनका सहयोगीले सिरियाली विद्रोहीलाई कुनै किसिमको सहुलियत नहुनेगरी असदको नेतृत्वलाई स्वीकार्नुपर्ने निर्विवादित तथ्य रहेको आधार देखिन थालेको छ ।

युद्धबाट अमेरिका यत्तिकै फर्केमा अमेरिकाका सिरियाको भविष्यका लागि काम गर्ने भन्ने विचारप्रति विश्वस्त बनेको खासगरी आइएसआइएस विरोधी अमेरिकी कारबाहीमा सघाएको सिरियाली कुर्दिस समूह तथा अन्य स्थानीय तथा क्षेत्रीय सहयोगीले नराम्रो मूल्य चुकाउनुपर्ने हुनेछ । आधिकारिक रूपमा अमेरिकाले उनीहरूको सुरक्षा प्रबन्ध मिलाएर फर्किने विश्वास दिलाएको भए पनि अमेरिकाको अनुपस्थितिमा उनीहरूलाई असद प्रशासनले टाउको उठाउने मौका दिने सम्भावना छैन र यो उनीहरूले महसुस गर्न थालिसकेका छन् । टर्कीको कुर्दिस समूहको रणनीतिक सम्बन्धको विकल्पमा आफूहरूलाई ट्रम्प प्रशासनले फसाएको भनी सिरियाली कुर्दिस समुदायले अमेरिकी वर्तमान प्रशासनको आलोचना गर्न थालेको छ ।

हुन पनि सिरियाली कुर्दिस समुदायको नियन्त्रणमा रहेको अफ्रिनमा टर्कीले आक्रमण गरी करिब एक हजार कुिर्दस नागरिक र अन्य सर्वसाधारणमा भएको हमलामा अमेरिकाले कुनै सहयोग गरेको थिएन अर्थात् उनीहरूको मृत्युको अमेरिकाले बेवास्ता ग¥यो ।

अमेरिकाको सिरियाबाट बहिर्गमनको चर्चापछि अहिले असदविरूद्ध अधिकारका लागि सशक्त रूपमा लड्दै आएका कुर्दिसहरूले आफ्नो सुरक्षाका लागि असदलाई नै सहयोग गर्नुपर्ने महसुस गर्न थालिसकेका छन् । केही कुर्दिस युवाले अफ्रिनको क्षतिको बदला लिन असदको संसदीय एकाइमा समावेश बनेका छन् भने हजारौँ कुर्दिस लडाकूहरू टर्कीको सामना गर्न अफ्रिनतर्फ लागिसकेका छन् । तर अमेरिकाको बहिर्गमनको कुराले टर्कीको आत्मबल बढेको छ जसले कुर्दिसहरूलाई अफ्रिनमा लड्न कठिन पर्नेछ ।

समग्रमा सिरियाली युद्धमा सामेल अन्य मुख्य विदेशी शक्तिहरू टर्की, रूस र इरानले युद्धपूर्वको आफ्नो प्रभावलाई कायम गराउने प्रयास गर्नेछन् । यद्यपि उनीहरूको उद्देश्य असद र विद्रोहीलाई आफूप्रति तानेर सिरियामा आफ्नो प्रभाव बलियो राख्नेमात्र हुनेछ ।

सिरियामा रूस र इरानले विशाल युद्धमा विजय बनेको महसुस गर्नेछन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समयमै सैन्य हस्तक्षेप गरी असदको नेतृत्व जोगाएका कारण उनको प्रभाव सिरियामा झन बढ्नेछ । युद्ध रूसको पक्षमा गएको मानिनेछ । सिरियामा अमेरिकाको समर्थन कतै रहने छैन तर रूस सबैतिर छाउनेछ ।

रूसको यस क्षेत्रको नेटो सदस्य राष्ट्र टर्की तथा इरानलगायत शक्तिराष्ट्रसँगको सहकार्य क्रेमलिनको विदेशनीतिका कारण निराशावादबाट थप उत्साहप्रद बन्नेछ । अमेरिकाले सिरियाबाट हात झिकेपछि टर्की र रूसबीचको सैन्य तथा आर्थिक सम्बन्ध गाढा बन्नेछ ।

असदको सत्ता जोगाउन रूस जस्तै इरानले पनि रगत तथा ठूलो धनराशि खर्चेको छ र राम्रो प्रतिफल पाएको छ । इरान अहिले इराक र लेबनानमा जस्तै अति प्रभावकारी क्षेत्रीय शक्तिका रूपमा सिरियामा रहेको छ । अमेरिकी शक्तिको अनुपस्थितिमा इरानले आर्जन गर्न सक्ने शक्तिसञ्चयले यस क्षेत्रलाई थप अस्थिरतातर्फ धकेल्ने छ । यो तर्क पनि गरिन्छ कि अमेरिकी सेनाको बहिर्गमनको बहानामा इजरायलले इरान र सिरियाली हेजबुल्लाह समूहविरुद्धको आक्रमणलाई बढाउन सक्नेछ जसले क्षेत्रीय द्वन्द्वलाई चर्काउनेछ ।

सन् २०१५ मा तत्कालीन अमेरिकी प्रशासनसहित विश्व शक्ति राष्ट्रहरूको पहलमा इरानसँग भएको आणविक सम्झौताको ट्रम्पद्वारा विरोध भए पनि यसले अर्को जोखिमको स्रोतलाई थप गरेको छ । अहिले सिरियामा एउटा वास्तविक तथा नयाँ खतरा यो देखिएको छ कि सिरिया सन् २०११ पछि सामना गर्दै आएको विनाशभन्दा अझ खतरनाक द्वन्द्वको संकटलाई सामना गर्ने मुलुकका रूपमा देखापरेको छ ।

(फवाज ए जर्जस लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सको अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हुनुहुन्छ । उहाँ आइएसआइएस, अ हिस्ट्री एण्ड मेकिङ द अरब वल्र्ड, नासिर, कुतब र क्लास द्याट सेप्ड द मिडल इस्टका लेखकसमेत हुनुहुन्छ) प्रोजेक्ट सिन्डिकेट ÷अनुवाद: दिलीप शर्मा

प्रतिक्रिया दिनुहोस्