Light Nepal

कहिले हुन्छ अब नेकपा एमाले र माअ‍ोवादी केन्द्रबीच पार्टी एकता, कि अब हुँदैन एकता ?

काठमाडौं, ४ बैशाख । नेकपा एमाले र माअ‍ोवादी केन्द्रबीच हुने वैशाख ९ गतेको पार्टी एकता भत्किएको छ । कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर वैशाख ९ मै पार्टी एकता गर्ने दुई पार्टीको तयारी पूरा नहुने भएको हो ।

नेताहरुले जेठ १५ को गणतन्त्र दिवस भन्दा अगावै पार्टी एकता गर्ने तयारी थालेको स्रोतका दाबी छ । त्यसका लागि दुई पार्टीका अध्यक्षलाई विवादीत विषयमा सहमति जुटाउने जिम्मेवारी तोकिएको छ ।

‘वैशाख ९ मा नभएपनि गणतन्त्र दिवस अगावै पार्टी एकता गर्ने सहमति भएको छ’ माओवादी स्रोतले भन्यो । बैठकमा माओवादीले कतिपय बिषयमा एमालेसँग थप स्पष्ट हुन खोजेको थियो ।

एमाले स्रोतका अनुसार प्रचण्डले एकता महाधिवेशनपछि आफू अध्यक्ष बन्न पाउनु पर्ने र वामपन्थी गठबन्धन बनाउँदा भएको सहमति अनुसार दुई बर्ष प्रधानमन्त्री बन्न पाउनु पर्ने कुराको सुनिश्चितता खोजेका छन् ।

प्रधानमन्त्री ओलीले सचिव सरुवा गर्दा एकलौटी गरेको तथा भारत भ्रमणको बिषयमा परामर्श नगरेको भन्दै माओवादी शशंकित भएको थियो ।

चुनावपछि पार्टी एकता गर्ने भन्दै असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका एमाले माओवादीले चुनावमा उत्साहपूर्ण नतिजा ल्याएका थिए । तर एमालेले सरकारमा एकलौटी गर्न खोजेको भन्दै माओवादीका भातृ संगठनले सम्मानजनक एकता गर्न अध्यक्ष प्रचण्डाको ध्यानाकर्षण गराएका थिए ।

जनमतको कदर गर्न र नेपालमा एउटै कम्युनिष्ट पार्टी स्थापना गर्न भन्दै उनीहरुले पार्टी एकीकरणको गृहकार्य गरिरहेका छन् । दुइदलबीच मिल्न नसकेका बिषय महाधिवेशनबाट टुंगाउने गरी फागुन ७ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्