Light Nepal

क्यानले विशेष साधारणसभावाट के के गर्देछ संसोधन ?

काठमाडौं, ४ वैशाख । नेपाल क्रिकेट संघ क्यानले आईसीसीले निलम्बन फुकुवा गरे जस्तो सुकै लचकता अपनाउन तयार रहेको जनाएको छ । काठमाडौंमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

आउँदो बिहीबार र शुक्रबार काठमाडौंमा हुने क्यानको विशेष साधारणसभाको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरुले क्यानको आपत्ति नरहने गरी विधान संशोधन गरेको र साधारण सभाले त्यो पारित गरेमा नेपाली क्रिकेटको विवाद समाधान हुने जानकारी दिए। गत भदौमा भएको क्यानको साधारणसभावाट पारित प्रावधानमा आइसीसीले चित्त नबुझाए पछि फेरी विशेष साधारणसभा हुन लागेको हो ।

महासचिव प्याकुरेलले विधानको मस्यौदामा आइसीसीले भनेअनुसारकै कुरा समेटेकाले अब समस्या नहुने विश्वास ब्यक्त गरेका छन् । उनले विशेष साधारणसभा पछि क्यान माथि लागेको प्रतिबन्ध फुकुवा हुनेमा आफु विश्वस्त रहेको बताए ।

यसअघिको विधानमा क्यानको नेतृत्वको चयन गर्न पुरानो कार्यसमितिका १७ जनाले निशर्त मताधिकार पाउने र कार्यसमितिमा उम्मेद्वारी दिन पाउने व्यवस्था थियो । आईसीसीले सबैभन्दा ठूलो असहमति त्यसैमा राखेको थियो । तर अहिलेको विधानमा त्यो व्यवस्था हटाइएको महासचिवले जानकारी दिए ।

यस्तै पहिलेको विधानमा राखेपका ७ जना प्रतिनिधिले साधारण सभामा मताधिकारसहित सहभागी हुन पाउने उल्लेख रहेकोमा अब त्यो सहभागिता नरहने विधानमा उल्लेख छ ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने यसअघि उल्लेख गरिएकोमा नयाँ विधानको मस्यौदामा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहनेगरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले अहिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्