Light Nepal

सिण्डिकेट विरुद्ध अझै कडा हुंदै सरकार, हड्ताल गरे सुरक्षाकर्मीले कब्जा गरेर गाडी चलाउने

काठमाडौं ४ वैशाख । सरकारले यातायात क्षेत्रमा लागू गरेको नियम नमानेर आन्दोलनमा जाने यातायात ब्यवसायीका विरुद्ध कडा कदम चालिने भएको छ । सरकारले त्यस्ता यातायात ब्यवासायीका गाडी कब्जामा लिएर सुरक्षाकर्मी मार्फत यातायात चलाउने भएको छ । सरकारले सार्वजनिक यातायातमा हड्ताल निषेध गर्दै यस्तो नियम लागू गर्न लागेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न वैशाख २० गते सार्वजनिक यातायात बन्दको घोषणा गरेपछि सरकार अझ कडा रुपमा उत्रने भएको हो । त्यसका लागि सुरक्षा निकायलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले यातायात क्षेत्रमा सिण्डिकेट खारेज गरेपछि महासंघले वैशाख २६ गतेदेखि अनिश्चितकालिन चक्काजामको घोषणा गरेको छ ।

गृहसचिव प्रेमकुमार रार्इले सार्वजनिक यातायात अत्यावश्यक सेवा भएकाले हड्ताल गरेमा सुरक्षा निकायले गाडी नियन्त्रणमा लिएर चलाउने जानकारी दिए । सुरक्षा निकायका जनपथ,सशस्त्र र सेनासँग रहेका चालकहरुलाई परिचालन गरेर हड्ताल गर्ने यातायात ब्यवसायीका गाडी कब्जामा लिएर संचालन गर्ने तयारी गरिएको राईले बताए । त्यस्ता यातायात ब्यवासायीको रुट परमिट समेत खारेज गरिने छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले सर्वसाधरणलार्इ समस्या हुने गरि चक्काजाम गरेमा तत्कालै रुट खारेज गरिदिने चेतावनी दिए । हड्तालमा उत्रने यातायात ब्यवसायीको रुट परमिट खारेज गरेर गाडी संचालन गर्न इच्छुक रहेका यातायात ब्यवासायीलाई तत्काल अस्थायी रुट परमिट दिने भट्टराईले बताएका छन् ।
सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत सार्वजनिक यातायात चलाउनुपर्ने,रुट इजाजतका लागि पञ्जीकरण गर्नुपर्ने,यातायात समिति असारदेखि नवीकरण नहुने सुधारका कार्यक्रम अघि बढाएपछि महासंघको अगुवार्इमा आन्दोलनको कार्यक्रम घोषणा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्