Light Nepal

मुख्यमन्त्री डोरमणीलाई भेटेर देउवाले गरे यस्तो आग्रह

हेटौंडा, ४ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटघाट गरेका छन् । उनले मुख्यमन्त्री पोडेललाई भेटेर प्रदेश राजधानीका विषयमा कुराकानी गरेका हुन् । नेता देउवाले मुख्यमन्त्री पौडेलसंग प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्र नसार्न आग्रह गरेका छन् ।

प्रदेशसभामा प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक र नुवाकोट बनाउनुपर्ने माग सहितको प्रस्ताव दर्ता भएको छ । कांग्रेस नेता देउवाले ति प्रस्तावलाई संसदको छलफलमै प्रस्तुत नगर्न सुझाव दिएका छन् । नेता देउवाले प्रदेश ३ को राजधानीका विषयमा तत्काल कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वले देउवालाई गरेको आग्रहका अनुसार उनले पौडेल समक्ष सो प्रस्ताव लिएर गएका हुन् । प्रतिनिधिमण्डलले पनि मंगलबार नेता देउवालाई भेटेर अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्