असिफा बलात्कार काण्ड : ‘हामीले हाम्रो छोरीलाई आफ्नो चिहानमा पनि गाड्न पाएनौँ’
काठमाडौं, ४ बैशाख । प्रश्नहरु… त्यो आमाको, जसकी आठ वर्षीया छोरीलाई सामूहिक बलात्कार पछि घाँटी निचोरेर मारियो । प्रश्न त्यो आमाको जसको बच्चामाथि गरिएको अपराधले धार्मिक विभाजनलाई झनै गहिरो बनाएको छ ।
‘हाम्रो बच्चीले… के खाएकी थिइन् ? के चोरेकी थिइन् उसले ? उसलाई किन मारियो ?’
‘उता परबाट लिएर गए । थाहा छैन, गाडीमा लिएर गए की ? थाहा छैन कसरी लिएर गए । थाहा छैन कसरी मारे …’
‘हामीलाई यही पछुतो छ…उसलाई किन मारियो ?’
अनगिन्ती प्रश्नहरु । एक पछि अर्को ।
वा एक आमाको कोमल मनको गहिराइबाट फुटेको पीडा !
उधमपुरको दुघर नालाको पहाडमा उनी हामीलाई प्रश्नहरु गरिरहँदा मेरो दिमागमा बलात्कारको शिकार भएकी उनकी आठ वर्षकी छोरीको अनुहार आयो ।
दुरुस्त आमा जस्तो अनुहार, उस्तै ठूला चम्किला आँखा, गोरो रङ्ग ।
क्षण भरमा ध्यान त्यहाँ फर्कदा उनी बताइरहेकी थिइन् “मेरी छोरी गोरी थिई, राम्री पनि थिई । चलाख, होसियार थिइन्, जङ्गलमा एक्लै गएर फर्कन्थी ।”
“तर त्यो दिन उनी आइनन् र पछि हामीले उसको लास पायौँ ।”
छेउमा भेडा, बाख्रा र गाईहरु घुमिरहेका थिए । बकरवाल समूदायको एक कुकुर रातीको जाडोले होला घाम तापिरहेको थियो । घोडा आफ्नो बच्चाको साथ चरिरहेको छ ।
असिफालाई पनि घोडाको चिन्ता हुन्थ्यो । उनी निक्कै राम्रोसँग घोडा चढ्न सक्ने उनकी बहिनीले बताइन् ।
त्यो दिन पनि घोडा चराउनै त गएकी थिइन् उनी कठुआको जङ्गलमा । त्यही समय उनलाई अपहरण गरियो र सात दिनसम्म सामूहिक बलात्कारपछि मारेर लास जङ्गलमा फालियो ।
दुःखमा डुबेकी आमा भन्छिन्, “पहिले तीन छोरीहरु थिए, अब दुई मात्र बाँकी रहे ।”
त्यो छोरीलाई उनले भाईलाई पाल्न दिएकी थिइन् ।
दुर्घटनाको समय पीडितकी असली आमा बुवा साबा शहरमा बस्थे । उनीहरुले पाल्न दिएको छोरी आफ्नो मामासँग कठूवाको त्यो गाउँमा बसिरहेकी थिइन् ।
सात दिनपछि लास भेट्टाउन र त्यसलाई प्राप्त गर्न पनि सजिलो भएन ।
असिफाको बुवा भन्छन् ,“प्रहरीहरुले तपाईहरुकै बकरवालहरुबाट कसैले मारेको होला भन्न थाले । उनीहरु त्यहाँको गाउँलेले यस्तो नराम्रो काम गर्नै नसक्ने भनिरहेका थिए ।”
सलबार जम्पर लगाएकी र हरियो सल ओडेकी बच्चीकी आमा भन्छिन् “आफै मरेको भए सम्हालिन सकिन्थ्यो । आफै मरी, सबै मर्छन् ऊ पनि मरी भनिन्थ्यो ।”
क्रिम कलरको शलवार कमिज लगाएका र चेक गम्छाको फेटा बाँधेका पीडितका बुबाले भने “हामीले हाम्रो छोरीलाई आफ्नो चिहानमा पनि गाड्न पाएनौँ । त्यही रात अर्को गाउँमा जानुप¥यो ।” -रातोपाटीबाट