Light Nepal

सकियो एमाले स्थायी समितिको बैठक, वैशाख ९ मै पार्टी एकता !

काठमाडौँ, ३ वैशाख । एमालेको स्थायी समितिका बैठक सोमवार सांझ सकिएको छ । बैठकले माओवादी केन्द्रसंगको पार्टी एकतालाई छिट्टै टुग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

एकतामा बिलम्ब हुंदा विभिन्न शंका उत्पन्न भएको भन्दै बैठकले एकताको काममा ढिलाई गर्न नहुने निष्कर्ष निकालेको छ । एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । एकताको काममा ढिलाई हुंदा अन्य तत्वले खेल्ने मौका पाउने भएकाले एकतालाई पछि घकेल्ने अवस्था आउन दिन नहुने धारणा बनाएको छ ।

त्यसका लागि मंगलबार हुने बाम एकता संयोजन समितिको बैठकमा एकता टुंग्याईहाल्ने कोणबाट छलफल गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन् । एकताको काममा ढिलाई हुंदा वाहिर विभिन्न आशंका गर्न थालिएको छ ।

बैठक पछि एमाले सचिव भीम आचार्यले एकता छिट्टै गर्नुपर्छ भन्ने बैठकको जोड रहेको बताए । त्यसका लागि वाम एकता संयोजन समितिको बैठकलाई फलदायी बनाउने गरी छलफल गर्ने भन्ने निष्कर्ष गरेको जानकारी दिए । सोमवार बसेको स्थायी समिति बैठक अघि बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै दुई घण्टा लामो छलफल भएको थियो। उक्त छलफलमा एकताका विवादित बिषयहरुलाई आ–आफ्नो पार्टीमा छलफल गरी मंगलबार संयोजन समितिको बैठक बस्ने तय भएको थियो।

प्रतिक्रिया दिनुहोस्