Light Nepal

नेपाली सेनाको ‘कमान्ड एन्ड स्टाफ कोर्ष’मा पहिलोपटक महिला

 

काठमाडौं, वैशाख ३ । नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कोर्षमा पहिलोपटक महिलाको प्रवेश भएको छ ।

सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा सन्चालन हुने २५ औं शृंखलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन् ।

नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

सहायक सेनानीमा वि।सं। २०६१ सालमा भर्ना भइ हाल कल्याणकारी निर्देशनालयमा कार्यरत् सेनानी सुलोचनाले सेनाको उक्त प्रतिष्ठित कोर्ष गर्न पाउने पहिलो महिला भइ सैनिकको क्षेत्रमा नौलो इतिहास रचिने भएको छ ।

२५औं कमान्ड एन्ड स्टाफ कोर्षका लागि यस वर्ष सात महिलासहित ३०० सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकामा ४९ जना छनोट भएका थिए ।

१० वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्षका लागि तीनपटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त कोर्ष सैनिक संगठनमा माथिल्लो तहमा पदोन्नति हुन अनिवार्य मानिन्छ ।

सहसेनानी र सेनानीले उक्त कोर्षका लागि प्रतिस्पर्धा गर्न पाउने सैनिक ऐनमा व्यवस्था छ ।

एउटै कोर्षमा सुलोचना र परिचित दम्पती
सुलोचनालाई उक्त कोर्ष आफ्ना पति सेनानी परिचित देउजासँगै एकैसाथ सहभागी हुने अवसरसमेत जुटेको छ ।

परिचित नेपाली सेनाको ४५औं समूहमा तथा सुलोचना ४६औं समूहमा भर्ना भएका अधिकृत छन् ।

‘हामी दुवैले निकै मिहिनेत गरेर परीक्षा दिएकाले सफल भएका हौं, निकै खुसी लागेको छ । यो कोर्षका लागि निकै ठूलो प्रतिस्पर्धा हुन्छ, यसपटकदेखि महिलाका लागि पनि ढोका खुला भएको छ’–सेनानी सुलोचनाले भनिन् ।

पछिल्लो समय शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेज विश्वका शक्तिशाली मुलुकका सेनाका लागि उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।

उक्त कलेजमा सन्चालित २५औं शृंखलाको कमान्ड एन्ड स्टाफ कोर्षमा बंगलादेश, चीन, भारत, लेबनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित ९ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्