Light Nepal

परदेशमा कामदार बनेका कृष्ण नेपाल आएर ३० करोडका मालिक

बुटवल । बुटवलका कृष्ण प्रसाद पौडेल एक त्यस्तो नाम हो जसको नामलाई मासु संग पर्याबाचिक बनाएर जोड्छन । बुटवलको बेलबासमा सुपर क्वालिटी मीट प्रोसेसिड. इन्डष्ट्रिज प्रालि सञ्चालक पौडेल मासु व्यवसाय बाट नाम मात्र हैन दाम पनि राम्रो कमाएका छन । पौडेल कुनै घरानीया व्यवसायी होइनन् । सामान्य किसानका छोरा हुन् । जो आफ्नो १६ वर्षको मेहनतले सफलताको शिखर चुमीरहेका छन् ।

गुल्मीको पुर्कोट दह गाविसमा २०२९ सालमा जन्मीएका कृष्ण प्रसाद पौडेल घरको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न नपुगेपछि एसएलसी दिए लगत्तै काम खोज्दै भारत छिरेका थिए । परिवार पाल्ने बाहेक धेरै कमाउन सकेनन् । परदेशमा जागिर गर्नुभन्दा स्वदेशमा सानै भएपनि काम गर्न ठिक । यही सोचेर २०५८ सालमा भारतमा मासु पसलका कामदारे कृष्ण स्वदेश फर्केका थिए । नेपालमा के गर्ने के नगर्ने केही महिना सोचाइमै बित्यो । अन्तिममा निश्कर्ष निकाले ‘१० वर्षसम्म काम गरेको मासु क्षेत्रकै अनुभवलाई व्यवहारमा उतार्छु।’ यही निश्चय लिएर कृष्ण ०५८ सालमा एक लाख रुपैया लिएर गुल्मीबाट बुटवल झरेका थिए । यसबाट सुख्खानगरमा भाडामा सटर लिए ।

दुई वटा खसी र केही कुखुरा लिएर मासु व्यवसाय शुरु गरेका थिए । १६ वर्षअघि सुरु गरेको कृष्णको गोदाममा अहिले सयौं खसीबोका छन् । हजार बढी कुखुरा छन् । आफ्नै मासु प्रशोधन उद्योग खोलेका छन् । कुनैबेला परदेशका कामदार उनले आफ्नै व्यवसायमा करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । एक दिनमै २० लाख सम्मको कारोबार गर्छन् । १६ वर्षमा स्वदेशमै ३० करोडभन्दा बढी कमाइ सकेका छन् । मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बनेका छन् । मासुसंग सरोकार राख्ने बिभिन्न संघ संस्थाहरुमा अगुवाई गरेर सामाजिक प्रतिष्ठा पनि उनले त्यत्तिकै कमाएका छन् ।

बुटवलको बेलबासमा रहेको प्रालिले नेपालमै पहिलो पटक थरीथरीका मासुका तयारी परिकार बजारमा ल्याएको छ । देशभरी नै बिक्री समेत गर्दै आएको छ । १५ करोड रुपैयाको लगानीमा सञ्चालीत उद्योगमा दैनिक ८ सय केजी मासु प्रशोधन हुन्छ । त्यसमा चिकन नगेट, बर्गर प्याटी,चिकन ककलेट, चिकन पपकन र चिकन ससेजको व्यवसायीक उत्पादन र प्याकेजीड. हुन्छ । यहााँ उत्पादित परिकार देशभरका २ सय ५० बढी डिपार्टमेन्ट स्टोरमा पाइन्छ । ८ कठ्ठा क्षेत्रफलमा बनाइएको उद्योगमा ५ सय मेट्रिक टन भण्डारण क्षमताको कोल्डस्टोर छ । उद्योग सहित प्रालिमा २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ५ सय बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

बुटवलमा मासु पसल तथा सुपर क्वालिटी मीट प्रोसेसिड. इन्डष्ट्रिज प्रालि सञ्चालन गरेका कृष्णको काम पनि पसलको नाम जस्तै क्वालिटीकै छ । मासु पसल खोलेर पहिलो पटक होम डेलिभरी संचालन गरेका कृष्णले मासु व्यवसाय र प्रशोधन उद्योग सबैमा प्रथमको रेकर्ड राखेका छन् । बुटवलमा पहिलो पटक चिकित्सक राखेर परीक्षणपछि मात्र पशुपंक्षी काट्ने पसल उनको मात्रै हो । मासुको होम डेलिभरी सञ्चालन गरेर ठेक्कामा बेच्ने, व्यपारी पनि उनी नै हुन् । मासु पनि फिला, कलेजो, सेतो, रातो लगायतका भिन्दा भिन्दै प्रकार र गुणस्तर अनुसार मूल्यमा बेच्छन् उनी । ‘उपभोक्तालाई सस्तोमा गुणस्तरीय मासुका परिकार चखाउन तयारी परिकार पनि बनाउन थालेको हुं।’ व्यवसायीक सफलताले हौसिएका कृष्णले भने । तयारी मासु बिक्रीका लागि घुम्ती क्याफे संचालन भएको छ । त्यसमा २५ प्रकारका मासुका परिकारहरु बनाउने गरिन्छ । सबैभन्दा महंगो चरा अष्ट्रिजको मासु बिक्री पनि थालेका छन् ।

मासु व्यवसायबाट करोडांै कमाएका कृष्ण सामान्य र मेहनती व्यक्ति हुन् । आफु्ले थालेको व्यवसायमा पत्नी विमला समेत हातमा हात र साथमा साथ पाएका छन् । विमला पनि छन् त्यस्तै । अहिले पनि उनी आफ्नी पत्नीका साथ बिहान करिब साढे तीन बजेबाटै मासु तयार गर्न लाग्छन् । ‘आफ्नालागि आफैले गर्नुपर्छ । कामदारको मात्र भर गरेर व्यवसाय चल्दैन।’ कृष्ण सुनाउँछन् ‘बल्ल काममा सफल भइन्छ ।’ व्यवसायलाई दीगो र अझ फराकिलो पार्न कृष्णको धेरै दिन अहिले देशविदेशको भ्रमणमा बित्ने गरेको छ । बाहिरी देशको सिको गरेर नेपालमा नविनतम प्रविधि ल्याउन यसो गरेको उनले बताए । विभिन्न जिल्लाबाट अहिले सफल व्यवसायी बन्न चाहिने मेहनत र लगनशीलता सिक्न आउने युवाको समेत भीड लाग्न थालेको छ । कृष्णसँग सीप सिकेर करिब ५० जनाले त मासु पसल खोलेका छन् । परम्परागत ढाँचालाई छोडेर संचालीत सबैजसोका व्यवसाय सफल छन् ।

स्वदेशमा अवसर नै नदेख्ने युवाहरुको भीडमा कृष्णले स्वदेशमा अवसर नै अवसर देख्ने गरेका छन् । काम गर्न आफ्नै लगानी हुनेका लागि मात्र होइन नहुनेकालागि पनि काम गर्नसक्ने अवस्था रहेको उनी बताउंछन् । कामलाई सानो ठूलो भनेर नदाँज्ने र मेहनत गर्ने हो भने विदेशमा भन्दा बढी पैसा स्वदेशमै कमाउन सकिने कृष्णको अनुभव छ । इमान्दार र लगनशील हुने हो भने पैसा मात्रै होईन ईज्ययत र प्रतिष्ठा पनि स्वदेशमै कमाउन सकिने कृष्णले बताए ।
प्रस्तुतीः विकाश पराजुली

प्रतिक्रिया दिनुहोस्