Light Nepal

भारतमा ८ वर्षीया बालिकाको बलात्कारपछि हत्याले धार्मिक तनाव

काठमाडौं, २ बैशाख । जनवरीको एक विहान प्याजी रङ्गको कपडा लगाइरहेकी आठ वर्षे असिफा बानो उत्तर भारतको आफ्नो गाउँ छेउमा घोडा चराइरहेकी थिइन् । एक पुरुषले उनलाई जङ्गल बोलाए र उनी पछि लागिन् ।

पुलिसका अनुसार बोलाउने पुरुषले असिफाको घाँटीमा समाएर जबजस्ती निन्द्रा लाग्ने औषधी खुवाए । एक साथीको सहयोगमा उसले असिफालाई नजिकको मन्दिरमा लगेर त्यहीँ थुनिदिए ।

पुलिसको अनुसन्धान अनुसार अर्को दिनसम्म ती दुई पुरुष र कम्तिमा थप अर्को एक पुरुषले उनलाई लगातार बलात्कार गरिरहे । अन्त्यमा एक पुरुषले अन्तिम पटक बलात्कार गरेर उनको घाँटी निचारिदिए ।

अनुसन्धानदातासँग आफ्नो अपराध स्वीकारेपछि अपराधीले उक्त घटना घटाउने उद्देश्य असिफाको घुमन्ते समुदायलाई त्यो क्षेत्रबाट धपाउनु रहेको बताए ।

केही दिनपछि असिफाको चोटग्रस्त लास जङ्गलमा भेटिएको थियो । उनको शरीरमा त्यतिबेला पनि उही प्याजी रङ्गको पहिरन थियो तर रगतले लत्पतिएको ।

यो घटनामा संलग्न रहेको आरोपमा आठ जना पुरुषहरु पक्राउ परेका छन् । ती मध्य धेरैले आफ्नो अपराध स्वीकारिसकेको घटना घटेको जम्मु काश्मीर राज्यका पुलिस अधिकारीले बताए ।
पक्राउ परेका मध्य दुई जना प्रहरी पनि छन् जसले यो घटना दबाउन लाखौं पैसा खाएको अनुसन्धानबाट खुलेको छ ।

‘माथिको विवरणले यो घटना भारतमा दिनहु क्रुर पुरुषबाट असाहय महिलामाथि भइरहने अमानविय यौन अपराधको एक घटना जस्तो देखिन्छ’ । तर असिफामाथि घटेको क्रुरताको केही महिनापछि यो मुद्दाले धार्मिक द्वन्द्वको रुप लिएको छ ।

भारतीय हिन्दु राष्ट्रवादीले यसलाई धार्मिक रङ्ग दिएका हुन् । उनीहरु पीडित असिफामाथि घटेको क्रुरता नजरअन्दाज गर्दै आरोपीहरु सबै हिन्दु भएको भन्दै उनीहरुको प्रतिरक्षामा सडकमा उत्रेका छन् ।
मृत असिफा घुमन्ते मुस्लिम बकरवाल समुदायको हुनु र अपराध अनुसन्धान गर्ने केही प्रहरी अधिकारीहरु पनि मुस्लिम भएको तथ्य देखाउँदै हिन्दु प्रदर्शनकारीहरुले दोषीहरुलाई फसाइएको भन्दै विरोधमा उत्रेका छन् ।

केही दिन अघि हिन्दु वकिलहरुको एक भीडले अदालतमा यो मुद्दा दर्ता गर्न गइरहेको प्रहरी अधिकारीहरुलाई बल प्रयोग गरेर छेक्यो । अधिकारीहरुले बेलुका न्यायाधीशको घरमै गएर मुद्दा दर्ता गरे ।
अब विरोध र विरोधको पनि विरोधको क्रम शुरु भएको छ । बुधबार असिफा मारिएको ठाँउ नजिक रहेको सानो शहर कठुयालाई प्रदर्शनकारीहरुले ठप्प पारे । त्यहाँ दर्जनजति हिन्दु महिलाहरु राजमार्ग छेकेर भोक हडताडमा बसिरहेका थिए ।

“उनीहरु हाम्रो धर्म विरुद्ध छन् ,” एक प्रदर्शनकारी विमला देवीले भनिन् , ‘यदी आरोपीहरुलाई मुक्त गरिएन भने हामी आत्म दाह गर्नेछौं ।”

प्रहरी अधिकारीहरु आफूहरुसँग घटनाको भौतिक प्रमाण भएको र प्रतिवादीहरुको डीएनए जाँचबाट पनि प्रमाणलाई बल मिलेको बताइरहेका छन् । यसका साथै प्रहरीले सोधपुछ गरेका १३० प्रत्यक्ष्यदर्शीहरुले पनि यो घटनाको प्रहरीको बयानलाई बल दिएको छ ।

सत्तारुढ भाजपाका कयैन महत्वपूर्ण नेताहरुले पनि यस घटनामा आफ्नो सक्रियता बढाएका छन् । उनीहरु यो ममलालाई राज्य प्रहरीबाट केन्द्रिय अनुसन्धान ब्युरोमा सारिनुपर्ने भनिरहेका छन् । तर आलोचकहरुले केन्द्रिय सरकार अन्तर्गत रहने यो व्युरो मार्फत भाजपा दोषीहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइरहेका छन् ।

घटना मन्दिरमा हुनुले पनि यो घटनालाई थप विवादित बनाएको छ । यो घटना बकरवाल समुदायलाई तर्साउनका लागि सोहि मन्दिरका संरक्षक सन्जी रामको योजनामा घटाइएको पुलिसले बताएको छ । सन्जीको योजना अनुसार उसको भन्जा र उसका केही साथीले असिफालाई अपहरण गर्न लगाएको र उनको हत्या भएको पुलिसको अनुसन्धानले देखाएको छ ।

पुस्तौंसम्म बकरवालहरु घुमन्ते रुपमा उत्तर भारतको पहाड र समथलमा ढुलिरहेका छन् । यो क्रममा उनीहरु आफ्नो जनावरलाई खुवाउन हिन्दु किसानहरुबाट घास परालहरु किन्ने गर्छन् । तर केही समयदेखि कठुवा क्षेत्रका केही हिन्दुहरुले घुमन्ते यो जातिहरु विरुद्ध आतङ्क सिर्जना गरिरहेका थिए । यो कामको अगुवाई रामले गरिरहेका थिए ।
“उसको विष फैलिरहेको थियो ।” बकरवालका नेता तलिब हुसेनले भने, “म सानो हुदाँ मलाई सन्जी रामको नामले हाम्रा महिलाहरुमा उत्पन्न गर्ने डरको याद आउछ । उनीहरु एक अर्कालाई डर देखाउन सन्जी

रामको नाम लिने गर्थे । सन्जी बकरवाल महिलाहरुप्रति दुरव्यवहारको लागि परिचित थियो ।”

असिफाका बुवा मोहम्मद युसुफ पुज्वालाले बकरवालहरुलाई डर देखाएर धपाउनको लागि नै आफ्नो छोरी मारिएको बताए ।

“तर हाम्रो जमिन र जीवन यही छ,” उनले भने “यो हाम्रो घर हो ।” यसो भन्दै गर्दा उनी भावविह्वल देखिन्थे ।
-रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्