Light Nepal

मेस्सीले गोल गर्दा बार्सिलोनामा साँच्चिकै भूकम्प, यस्तो छ वैज्ञानिकले दिएको प्रमाण !

काठमाडौं, २८ चैत्र । सामान्यतया कसैले केही राम्रो काम गर्यो अथवा चर्चा पाउने काम गर्यो भने हामी भन्ने गर्छौं देश हल्लायो, सहर हल्लायो । तर जब मेस्सीले बार्सिलोनामा उत्कृष्ट गोल गर्छन्, त्यतिबेला साँच्चिकै नै बार्सिलोना हल्लिने गरेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउको नजिकै भूकम्प मापन गर्ने यन्त्र सिस्मोमिटर राखेका छन् । जुन सेस्मोमिटरले हरेक पल्ट मेस्सीले गोल गर्दा दर्शक उफ्रिएर गर्ने सेलिब्रेसनबाट हुने कम्पनको मापन गर्ने गरेको छ ।

जब दर्शक खुशियाली मनाउन उफ्रिन्छन् तब भूकम्प मापन यन्त्रले स्पष्ट रुपमा कम्पनलाई देखाउने गरेको वैज्ञानिकहरु बताउँछन् ।

पछिल्लो पटक जब बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेइनलाई हराउँदै क्वार्टरफाइल पुग्यो त्यतिबेला यस्तो ‘स्पाइक’ धेरै देखिएको थियो । च्याम्पियन्स लिगको त्यो खेलमा मेस्सीको टिम बार्सिलोनाले पेरिस सेन्ट जर्मेइनलाई समग्रमा ६–५ ले हराएको थियो ।

वैज्ञानिक जोर्दी डियाज र उनका साथीहरुले बार्सिलोनामा कम्पन मापन गर्ने यन्त्र जडान गरेका हुन् र क्याम्प नाउमा सांगितिक कन्सर्टहरु पनि हुने गरेका छन् । र ती वैज्ञानिकले कन्सर्ट र बार्सिलोनाको खेलका क्रममा हुने भू–कम्पनको मापन गरेर दुईबीच फरक पनि छुट्याएका छन् ।

उनीहरुले कन्सर्टमा भन्दा बार्सिलोनाले गोल गर्दा हुने सेलिब्रेसनमा बढी जमिन थर्किने गरेको बताएका छन् । कन्सर्टमा मानिसहरु संगीतको तालमा झुम्छन् तर गोल हुँदा सबै प्रशंसकहरु आफ्नो आफ्नो ताल र शक्तिका साथ उफ्रिने गर्छन् । यसले गर्दा दुईबीच फरक देखिने गरेको उनीहरुले बताएका छन् ।

सिस्मोमिटर बार्सिलोनाको मैदान क्याम्प नाउभन्दा ५ सय मिटर पर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्