Light Nepal

यसरी अन्तर्राष्ट्रियकरण हुँदैछ नेपाली खाना

काठमाडौँ, २६ चैत / विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ । नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो ।

होटल एशोसिएसन अफ नेपाल (हान) को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानले अन्तर्राष्ट्रिय जगत्मा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ ।

नेपाली पर्यटन र नेपाली मौलिक परिकारबीच गहिरो सम्बन्ध रहिआएको छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको मौलिक खाना, रहनसहन र वेशभूषासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडिया, इटालीलगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गर्ने गरेका छन् । नेपालमा पनि जातजातिको संस्कृतिअनुसारका परिकारलाई पर्यटनसँग जोडेर बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिने अभियानका सोचकर्ता कर्ण शाक्य बताउनुहुन्छ ।

नेपाल भ्रमणमा आउने पर्यटकहरु गाउँगाउँमा घुम्न, विभिन्न जातजातिका संस्कृतिसँग रमाउन र उनीहरुका मौलिक खानेकुरा खान रुचाउने गर्दछन् । नेपाल भ्रमण गरी स्वदेश फर्किएका विदेशी पर्यटकहरुले नेपाली खाना र संस्कृतिलाई विश्वभर प्रचार गरेको पाइन्छ । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

विश्व भ्रमणमा निस्कने पर्यटकमध्ये ३० देखि ३५ प्रतिशत विभिन्न देशका खानाको स्वाद लिनकै लागि ती देशहरुको भ्रमण गर्दछन् । हिजोआज पर्यटनको माध्यमबाट देश विकास गर्न खोजेका देशहरुले मौलिक खानाको प्रवद्र्धनमा जोड दिएका छन् । इटालियन, इन्डियन, चाइनिज, कोरियन खाना परिकार भएजस्तै अब नेपालका पनि २६ वटा परिकार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न लागिएको छ ।

भारतमा सन् १९६० ताका तत्कालीन पर्यटनमन्त्री करण सिँहले भारतीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यले जेट विमानमा खाना राखी युरोप, अमेरिकामा लगेर प्रचार गराएका थिए । नेपालले पनि अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सक्ने सम्भावना प्रशस्त रहेको छ । नेपाल आउने पर्यटकको ३५ देखि ४० प्रतिशत खर्च खानामा हुने गरेकाले यसतर्फ विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताउनुहुन्छ । थाइल्यान्ड, इटाली, भियतनाम जस्ता मुलुकहरुमा पर्यटकहरु त्यहाँ परिकार खानैका लागि करोडाँैको संख्यामा जाने गरेका छन् । नेपालको परिकारलाई पनि प्रवद्र्धन गर्न सके नयाँ ‘प्रडक्ट’को समेत शुरुवात हुने शाहको विश्वास छ । नेपाली परिकारका खानामा खर्च गराउन सके नेपालको प्रवद्र्धनमा थप सहज हुने देखिन्छ । ‘खानाले प्रवद्र्धन र नेपाली खानाप्रतिको विश्वास विश्वभर जाने छ जसबाट नेपाली पर्यटनमा नयाँ आयाम थपिन्छ,’ महासचिव शाहले भन्नुभयो ।

नेपालीले विश्व बजारमा होटल र रेस्टुराँ सञ्चालन गरेका तर, ती ठाउँमा इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन यो अभियान निकै महत्वपूर्ण मानिएको छ ।

नेपाली ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता सुरेशचन्द्र बस्नेतले आगामी मे महिनासम्म देशका प्रमुख शहरहरु र त्यसपछि विश्वका अन्य देशहरुमा नेपाली खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले होटलको अनुमतिपत्र दिँदा त्यसमा नेपाली रेस्टुराँ पनि भएको हुनुपर्ने प्रावधान राख्नुपर्ने होटल व्यवसायी महासचिव शाहको सुझाव छ । थाइल्याण्डले विश्वका कुनैपनि देशमा थाइल्याण्डको खाना खुवाउने रेस्टुराँ स्थापना गरेमा आर्थिक अनुदान तथा प्राविधिक सहयोग पु¥याए जस्तै नेपाल सरकारले पनि विभिन्न देशमा रहेका नेपाली रेस्टुराँहरुमा नेपाली रैथाने खाना राख्न प्रेरित गराउन शुरु शुरुमा प्रोत्साहत गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

विश्वभर नेपालीहरुले नेपाली रेष्टुराँ सञ्चालन गर्दै आएको भए पनि दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्ने बाध्यता रहेको थियो । अब ती रेस्टुराँमा नेपाली मौलिक २६ खानाका परिकारहरु पाउन सकिनेछ । यसमा पाँचवटा सुपमा पञ्च क्वाः (आलु, तामा र बोडी), सिस्नोको झोल, फाँडो, क्वाटी र ज्वानोको झोल रहेका छन् । यसैगरी, स्न्याक्समा चुकौ, करेसावारी, चुक शखर खन्ड र साँधेको आलु रहेका छन् ।

मुख्य खानामा जोगी भात, सेकुवा, मनाः छोय्ला, हाकु छोय्ला, कुखुरा साँधेको, बँदेल उसिनेको, ढुंग्रे, वो (बारा), चटाँमरी, पकुवा, फुलौरा रहेका छन् । डेजर्ट आइटममा योमरी, दहीफल, सिकर्नी (दही र दालचिनी) राखिएको छ । ती परिकारको क्यालोरी परीक्षणका लागि सरकारको खाद्य प्रयोगशालामा पठाइएको छ । मेन कोर्स, एपेटाइजर, डेजर्ट गरी विभिन्न भागमा बाँडिएको खानामा चाहिने मसला तथा सामग्रीहरु जुनसुकै देशमा पनि उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय होटलमा यी परिकार बनाउन सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते नेपाली खानालाई औपचारिकरुपमा उद्घाटन गरी अन्तर्राष्ट्रियकरण गर्नुहुने कार्यक्रम छ । त्यसपछि ती मौलिक नेपाली खानालाई विदेशस्थित नियोगहरु, गैरआवासीय नेपाली संघ, युनेस्कोलगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रर्वद्धन गरिनेछ । हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटल व्यवसायमा आवद्ध छन् । रेष्टुराँको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ ।

नेपाल पर्यटन बोर्डको ’एक्सपेरियन्स नेपाल’ अभियानअन्तर्गत अस्ट्रेलिया, अमेरिकालगायतका विभिन्न देशमा रैथाने नेपाली खानाको प्रदर्शन अभियान सञ्चालन गरिएको थियो । अभियानलाई आफ्नो अभियानका रुपमा लिँदै बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहनुभएका दीपेश शाक्यलाई अभियानको संयोजक तोकेको छ । यसअघि सन् २०१७ मा घोषणा गरिएको भिजिट ‘नेपाल इन युरोप’का संयोजक रहनुभएका शाक्य नेपाली खानाका परिकारमार्फत नेपाली पर्यटनको प्रवद्र्धन हुने कुरामा विश्वस्त हुनुहुन्छ । नेपाली स्वादलाई विश्वभर रहेको रेष्टुराँमा नेपाली परिकारको रुपमा राख्न सकिएमा त्यसले नेपालको आफैं प्रचार हुने उहाँ बताउनुहुन्छ ।

सन् २०२० मा हुने भिजिट नेपालको पूर्व तयारीका रुपमा हेरिएको यो अभियान सन् २०१८ र २०१९ सम्म जारी रहने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताउनुभयो । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च १० लाख पुगेको छ । अबको दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक र १२ वर्षभित्र ३० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य सरकारले राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्