Light Nepal

समृद्धिका लागि विगुल फुक्दै युवा

काठमाडौं, २७ फागुन । नेपालगन्जलाई प्रदेश राजधानी बनाउन हरेक दृष्टिकोणले उपयुक्त हुँदाहुदै पनि राजनीतिक दलका नेताहरुले उचित पहल नगरेका कारण बांकेका युवाहरु समृद्ध नेपालगन्ज बनाउने अभियानमा लागेका छन् ।  भौतिक पुर्वाधार र पहुचका दृष्टिकोणले नेपालगन्ज प्रदेश राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि बांकेवाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र दलका नेताले पहल नगरेको युवाहरुको गुनासो छ ।
उनीहरुले जनप्रनिनिधि र दलका नेताहरुलाई त्यसका लागि जागरुक बनाउन नेपालगन्जमा चैतको दोस्रो हप्ता ‘समृद्धिका पाइला’ नामक वृहत कार्यक्रम आयोजना गर्ने भएका छन् ।

निर्वाचनका समयमा नेपालगन्जलाई राजधानी बनाउन पहल गर्नेछौं भन्दै भोट मागेका दलका नेताहरु निर्वाचन पछि चुप लागेकाले झकझकाउन आवश्यक रहेकाले वृहत कार्यक्रम आयोजना गर्न लागेको एमाले बांकेका सचिव रत्न खत्रीले बताएका छन् ।  धार्मीक, भाषिक र जातिय विविधताले भरिपुर्ण र ऐतिहाँसिक महत्व बोकेको नेपालगन्ज राजधानीका लागि कसरी उपयुक्त छ त्यसका लागि नागरिक स्तरवाट भइरहेको प्रयासका विषयमा एमाले बांकेका सचिव रत्न खत्रीसंग लाइट नेपालका श्रृजना आचार्यले गरेको कुराकानीको सारसंक्षेप

के हो यो समृद्धिको पाइला ? यसको उद्येश्य के हो ?

प्रदेश ५ लाई समृद्ध बनाउन सरकारले गर्ने कामलाई सहयोग गर्ने, युवाहरुबीच समृद्धिका लागि बिचार निर्माण गर्ने र आय आर्जनकासंग सम्बिन्धित काममा युवाहरुलाई संलग्न गराउने उद्येश्यले संगठित ४० वर्ष उमेर आसपासका युवाहरुको संगठन हो । खजुरा नगरपालिकाका किरण ढकाल संयोजक रहेको ११ जनाको कार्य संचालक समिति छ भने त्यसमा ५५ युवा समेटिएका छौं । समृद्धिका लागि समेटिन चाहने अन्य युवाहरुलाई पनि समेट्ने प्रयासमा छौं । युवाहरुलाई कुलतमा लाग्न नदिन र विकास निर्माणका काममा संलग्न बनाउने उद्येश्यले संगठित भएको यो समुहका साथीहरुले मासिक रुपमा केही पैसा जम्मा गरेर आर्थिक उपार्जन र सरकारलाई समृद्धिका काममा सहयोग पुर्याउन विचार निर्माण गर्न समय समयमा आफै भेला हुने छलफल गर्ने लगायतका कार्यक्रम गर्नेछौं ।

नेपालगन्ज लगायत प्रदेश ५ लाई समृद्धि तर्फ लैजानका लागि तत्काल त्यस्तो केही ठूलो योजना केही छ ?

अब छिट्टै नै वृहत कार्यक्रमको आयोजना गर्न गइरहेका छौं । सम्भवतः चैत महिनाको दोस्रो साता आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने, समृद्धिका लागि योजना बनाउने कार्यक्रम गर्दैछौं । त्यसका लागि प्रदेश ५ लगायत नेपालगन्जमा भौतिक पुर्वाधारको सम्भावना र अवस्थाका विषयमा दिनेश थपलिया, कृषिका विषयमा डा वाइवि थापा, बनका सम्बन्धमा घनश्याम पाण्डे, गरिवि निवारणका विषयमा डा. नहकुल केसी, विकासका लागि सूचनाका सम्बन्धमा यशोदा तिम्सिना, वर्तमान आथिएक अवस्था, यसको विकास र राष्ट्रिय पुँजीमा प्रदेश ५ को प्रभाव का विषयमा डा. विजय पौडेल र संघ प्रदेश र स्थानिय सरकार बिचको कानुनको अन्तरसम्बन्ध विषयमा दिनबन्धु पोखरेलले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यो कार्यशालामा प्रदेश ५ का विज्ञ र हजारौं युवाहरुलाई सहभागी गराइने छ । प्रदेश ५ लाई हरेक दृष्टिकोणले कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा वृहत छलफल कार्यक्रम संचालन गरीनेछ ।

प्रदेश राजधानी माग गर्दै अन्य जिल्लामा जसरी ठूलो श्वरमा आवाज उठेको छ त्यसरी नै नेपालगन्जको आवाज काठमाडौं सम्म आइपुगेको सुनिएन, यसको कारण के होला ? नेपालगन्जले माग नगरेको हो अथवा काठमाडौं सम्म आवाज आइनपुगेको मात्र हो ?

नेपालगन्जले आवाज नउठाएको होइन । जनस्तरवाट नेपालगन्जलाई राजधानी बनाउने सर्तमा प्रतिनिधिलाई भोट दिएका हुन् । जनताले नै प्रदेश राजधानीका लागि भौतिक पुर्वाधार समेत प्रस्तुत गरेका छन् । जनस्तरवाट ठूलो आवाज उठेको छ तर त्यसलाई जनप्रतिनिधि र दलका शिर्ष नेताहरुले सम्बन्धित ठाउँमा नपुर्याएका मात्र हुन् । निर्वाचनमा भोट माग्दा नेपालगन्जलाई प्रदेश राजधानीका रुपमा प्रस्तुत गरेर भोट मागे तर उद्येश्य पुरा भएपछि आफ्नो कर्तब्य ननिभाएको मात्र हो । यसमा हामी जस्ता युवाको जनप्रतिनिधि र राजनीतिक दलका शिर्ष नेता प्रति गुनासो छ । हामीले गर्न लागेको वृहत कार्यक्रम पनि नेपालगन्ज हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि उपयुक्त छ भन्ने सन्देश दिनकै लागि हो ।

प्रदेश राजधानीका लागि पुर्वाधार के छ त्यस्तो नेपालगन्जमा ?

हामी हरेक देष्टिकोणले सक्षम छौं । नेपालगन्ज यस्तो शहर हो जसले प्रादेशिक औद्योगिक मेलाको आयोेजना गर्न सफल भयो । नेपालगन्ज उद्योग बाणीज्य संघले त्यो हिम्मत देखायो । अहिले हामीले गर्न लागेको वृहत कार्यक्रम पनि त्यसतै प्रकृतिको हो । प्रदेशको नेतृत् वगर्न नेपालगन्ज सक्षम छ भन्ने सन्देश जाने किसिमले हामीले कार्यक्रम आयोजना गरीरहेका छौं ।

नेपालगन्ज ५, ६ र ७ प्रदेशकै शिक्षा, स्वास्थ्य र पर्यटकिय हवको रुपमा स्थापित छ । यहाँ वहु धार्मिक, वहुभाषिक जनताको वसोवास छ जसका कारण नेपालगन्ज विशिष्ट पहिचान बोकेको क्षेत्र हो । पर्यटकिय दृष्टिकोणले मानसरोवर जाने पर्यटकको लागि ट्रान्जिट प्वाइन्टका रुपमा स्थापित छ । सिचाई र कृषिका लागि यो क्षेत्रले विशेष महत्व राख्छ । अहिले सरकारले तोकेको अस्थायी मुकाम बुटवलमा मन्त्री र मुख्यमन्त्री बस्न एउटा कोठा नपाएर अप्ठेरो परेको छ हामी नेपालगन्जमा प्रत्येक मन्त्री र अन्य सरोकारवालाहरुलाई प्रति ब्यक्ति एउटा घर उपलब्ध गराउन सक्छौं ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो क्षेत्र भित्र पर्ने सबै शहरहरुलाई न्याय दिने हिसावले कार्यक्रमहरु लैजानेछु भनेर यस अघि नै प्रतिज्ञा गरिसक्नु भएको छ । नेपालगन्जका लागि प्रदेश सरकारले गर्नुपर्ने प्रमुख कामहरु के के हुन् ?

प्रदेश सरकारले नेपालगन्जलाई समृद्ध बनाउन रिङ रोड बनाउनुपर्ने आवश्यकता देखेको छु । नेपालगन्जमा रहेको प्रदेश ५, ६ र ७ का नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको भेरी अञ्चल अस्पताललाई सरकारी शैक्षिक अस्पतालका रुपमा विकास गर्नुपर्ने आवश्यकता छ । त्यस्तै नेपालगन्जको राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्छ । यहां रहेको नार्कमा कृषि क्याम्पसका रुपमा विकास गर्नुपर्ने, बांके र वर्दियाको सबैभन्दा ठूलो समस्या कटानको समस्या हो त्यसको समाधानका लागि राप्ती नदि र मानखोलामा गुरुयोजना बनाएर स्थायी तटबन्ध निर्माण गर्नुपर्ने तात्कालिन आवश्यकता देखेको छु । बांके र वर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा रहेका नागरिकले जंगली जनावरका कारण अनाहकमा वर्षेनी ज्यान गुमाउनु पर्ने अवस्था छ त्यसको ब्यवस्थापनका लागि विद्युतिय प्रविधि जडान गर्नुपर्ने तात्कालिन काम प्रदेश सरकारले गर्न आवश्यक छ ।

नेपालगन्जलाई प्रदेश राजधानी बनाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

अहिलेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र प्राप्तीका लागि लडेका नेताहरु हुन् । लोकतन्त्रका लागि लामो संघर्ष गरेका नेता भएकाले लोकतन्त्रको मर्म नबुझ्ने भन्ने प्रश्न नै उठ्दैन । गणतन्त्र वा लोकतन्त्रमा पहुँचको आधारमा होइन जनताको आवश्यकताका आधारमा निर्णयहरु हुने गर्छन । जनताको पहुँच, भौतीक पुर्वाधार लगायत राजधानीका लागि आवश्यक आधारलाई लिएर यदि राजधानीका विषयमा निर्णय भयो भने नेपालगन्ज बाहेक अर्काे उत्तम विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्